Sunday, October 20, 2013

अपील

अपील
आदरणीय आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरू!
मिति २०७० मंसीर ४ गते हुन गैरहेको संविधान-सभाको दोस्रो निर्वाचनमा म दाङ, क्षेत्र नं. २ बाट व्यवस्थापिका-संसद सदस्यको लागि ने.क.पा.ए.मा.ले को तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार भएको कुरा त अवगत नै छ। आफूले जीवनका तीन दशक जति गाउँ-बेसी, खेत-खलिहान, खोला-जंगल चाहारेको भू-क्षेत्रको प्रतिनिधित्व गर्दै देशको मूल कानून बनाउने जिम्मेवारीका लागि तपाइँहरूको घर-आँगनमा हात थाप्नआइपुग्दा मलाइ निकै आत्मीयताको अनुभूति भैरहेको छ।जीवनका उर्जाशील १८ बर्षकम्लरीको रूपमा रहेर पनिमैले उत्पीडित, सीमान्तिकृत र शोषित वर्गको मुक्तिका लागि संघर्ष गर्दै कम्लरी मुक्तिको सफल नेतृत्व गरेको कुरा कसैबाट छिपेको छैन। अहिले तपाइँहरू समक्ष आइपुग्दा मेरा लक्ष्यहरू अब त्यो वर्गको उत्थान, श्रमको सम्मान, स्वाभिमान र न्यायका साथै सबै बर्ग, लिंग र समुदायका लागि समान अवसरको संघर्षमाकेन्द्रित भएका छन्।
अघिल्लो संविधान सभामा समानुपातिकबाट म संसद-सदस्य मनोनितभैसक्दासम्म निरक्षर रहेकी मैले संसदको प्राकृतिक स्रोत तथा साधन समितिको सभापतिको भूमिका निर्वाह गर्नुपर्ने अवस्था मेरो जीवनको सबैभन्दा ठूलो चुनौती थियो। संविधान नबन्नु एउटा सांसदको हातको कुरा थिएन। जहाँसम्म मेरो व्यक्तिगत भूमिकाको प्रश्न छ, एउटी निरक्षर महिला संसदमा प्राकृतिक स्रोत समितिको सभापतिको भूमिकामा काम गर्नु पर्दा समेत अथक मेहनत,परिश्रम, निष्ठा,प्रतिबद्धता र धैर्यतापूर्वक आफ्नो भूमिकालाई प्रभावकारी र निर्विवाद बनाउन सकेको कुरा यहाँहरूलाई अवगत नै छ। अब त मसँग अनुभव छ। स्व-अध्ययनबाट प्राप्त शिक्षाले अन्तर्राष्ट्रिय नेपाली वाङ्मय ‘नक्षत्र’ पुरस्कार सम्म प्राप्त गर्न सकें।देशविदेशका भ्रमणबाट प्राप्त अनुभवले देश कसरी बनाउन सकिंदो रहेछ भन्ने सपना देख्न सक्ने भएकी छु।यहाँहरूको अथाह माया र विश्वासले मलाइ धेरैले चिन्न सक्ने बनाएको छ।
आठ वर्षको कलिलो बाल्यावस्थामा जब मेरा दौंतरीहरुकापी-किताव बोकेर स्कूल गैरहेका हुन्थे, म कसैको घरमा भाँडा माझिरहेकी हुन्थें, भकारो सोहोरिरहेकी हुन्थें, आँगन पोतिरहेकी हुन्थें। मानवीय दासताको त्यस कुरूप साङ्लोमा बाँधिएको बेला पनि मैले शोषित-पीडितको मुक्तिका सपना देख्थें। जीवनमै दाउमा लगाएर गरेका मेरो संघर्षलेकम्लरी मुक्तिमात्र भएन, हामी पनि मान्छे हौँभन्ने चेतना पुस्तौंदेखि शोषित वर्गमा जगाउन सकें। व्यवस्थापिकामा आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै सामाजिक चेतना र महिलासशक्तिकरणका कार्यहरू र आफ्नो गच्छेले भ्याएसम्म विकासका कार्यहरूमा समेत मैले योगदान पु-याएकी छु। विभिन्न विद्यालयहरूको भवन निर्माणमा योगदान, सिस्ने खोलामा कल्भर्ट निर्माण लगायतका विकास निर्माणका कार्य केही उदाहरणहरू हुन्।
बर्षौंखाली खुट्टाहिडेको माटोमै छु म। तपाइँहरूलाई मेरो धरातल स्पष्ट छ। न त म कुनै खानदानी इज्जतको लागि चुनाव लडिरहेकी छु न त राजनीतिबाट कुनै व्यक्तिगत लाभका लागि। म यो क्षेत्रको कायापलटै गर्छु भनेर कोरा आश्वासन दिन्न तर यो विश्वास दिलाउन चाहन्छु कि तपाइँहरूकी चेलीले संसद सदस्य पदको गरिमा, ओज र महत्वलाइ कदापि कम हुन दिने छैन।
चाहे जुनसुकै वर्गका भएपनि महिलाहरू पछि परेका छौं। म सबै चेलीहरूमा आत्मविश्वास, स्वाभिमान, स्वनिर्भरता र उत्साह जगाउन चाहन्छु। महिलाहरूले आफ्नो भविष्यको गोरेटो आफै कोर्न सक्छन् भन्ने विश्वास जगाउन चाहन्छु। रात-दिन श्रम गरेर रगत, पसिना र आशुसँगमुस्किलले बिहान बेलुकाको छाक टार्ने वर्गको प्रतिनिधित्व गर्नका लागि मेरो उम्मेदवारी हो। एक उत्पीडित समुदायबाट आएकी चेली हुँ, हिजो पनि तपाइँहरूकै घर आँगनमा थिएँ, भोली पनि रहने छु। तपाइँहरूको सोझै प्रतिनिधित्व गरेर यस क्षेत्रको आवाज राज्यका सर्वोच्च निकायसम्म पु-याउन पाउँ भन्ने मेरो नम्र अनुरोध हो। सोझै प्रतिनिधित्व गरेर जाँदा विकास प्रयासमउल्लेख्य योगदान दिन सकिने कुरा पनि मैले बुझेकी छु।यस क्षेत्रको विकासका लागि गरिने प्रयासमा मैले कुनै पनि राजनीतिक आस्था वा दलीय पूर्वाग्रह बिना प्रयास गर्ने कुराको समेत विश्वास दिलाउन चाहन्छु।
तसर्थ, आगामी आम-निर्वाचनमा चुनाव चिन्ह सूर्यमा मतदान गरी मलाइ आफ्नो प्रतिनिधिको रूपमा विजयी बनाएर पठाउनु हुन बिनम्र अनुरोध गर्दछु। विश्वास छ, देश र जनताका लागि मैले देखेका नयाँ सपनाहरू यहाँहरूकै मत र आशिर्वादले मूर्तरूप लिन पाउने छन्।
-शान्ता चौधरी

No comments:

Post a Comment